महाकालीमा भीषण बाढी

महाकाली नदीमा यो वर्षकै उच्च बाढी आएको छ। नदीको बहाव आइतबार प्रतिसेकेन्ड ३ लाख २६ हजार क्युसेक नाघेको छ। शनिबारको तुलनामा आइतबार पानीको मात्रा बढेको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेकाले महाकालीमा बहाव बढेको हो।
आइतबार बिहानदेखि वर्षा जारी छ। 'झरी रोकिएको छैन, पानीको मात्रा अझै बढ्न सक्छ,' सीमा प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, 'बिहानको भन्दा पानीको मात्रा बढेको छ।' आइतबार दिनभर झरी परिरहेकाले महाकालीमा पानीको मात्रा अझै बढ्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले ५ सय बढी घर डुबानमा परेका छन्। एक हजार बढी घर बाढीको जोखिममा छन्। महाकाली र जोगबुढा नदीमा बाढी आउँदा दोधारा–८ र ९ का चार सय घर डुबानमा परेका छन् भने पाँचवटा घर बाढीले बगाएको छ। सातवटा घर उच्च जोखिममा छन्। शनिबार साँझ नै डेढ सय परिवार डुबानमा परेका थिए। रातभर पानी परेपछि आइतबार साँझसम्म थप घर डुबानमा परेका हुन्। 
डुबानमा परेका परिवारलाई नेपाली सेना, सशस्त्र पहरी र जनपद प्रहरीले सुरक्षित स्थानमा सारेको छ। बाढीले थप बस्ती डुबानमा पर्ने स्थिति रहेको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी डम्बर आलेमगरले बताए। 'सेना बिहानैदेखि उद्धारमा खटिएको छ,' उनले भने। 
कञ्चनपुरका विभिन्न नदी र खोला छेउछाउका बस्ती डुबानमा परेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले डुबानमा परेकालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए। 'डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ,' उनले भने। सदरमुकाम महेन्द्रनगरसमेत डुबानमा परेको छ। सदरमुकाम क्षेत्रको भगतपुर, वनखेत, सालघारी, मुक्तकमैया शिविर, बजार क्षेत्र डुबानमा परेका छन्। चुरेक्षेत्र भएर बग्ने खहरे खोलाको बाढीका कारण महेन्द्रनगर पूरै बाढीले ढाकिएको छ। 
इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दले भीमदत्त नगरपालिका–११, भुजेलागाउँमा तीनवटा स्पर बाढीले भत्काएको बताए। 'पानीको बहाव तीव्र छ, नहरलाई समेत असर पार्ने देखिएको छ,' उनले भने, 'सुरक्षाकर्मीले अस्थायी तटबन्ध बनाइरहेका छन्।' जिल्लाको दैजी, शंकरपुर, परासन, बेल्डाँडीलगायत गाविससमेत डुबानमा परेका छन्। वर्षाका कारण जिल्लाको ग्रामीण भेगको यातायात ठप्प भएको छ। सदरमुकामसितको सम्पर्क बिच्छेद भएको छ।
बेपत्ताको पत्तो लागेन 
महाकाली नदीले शनिबार बगाएर बेपत्ता भएकी कञ्चनपुर भीमदत्त–१० की ५५ वर्षीया तुलसीदेवी पन्तको अझै पत्तो लाग्न सकेको छैन। बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा पन्त शनिबार नदीमा बगेकी थिइन्। गड्डाचौकी नजिकैको शारदा ब्यारेजको पूर्वतिर नदी किनारमा दाउरा संकलन गर्न गएकी पन्तलाई बाढीले बगाएको थियो। प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले दुई दिनदेखि खोजी गरिरहे पनि पत्तो लाग्न नसकेको बताए। 
प्रहरी र सेनासहित ५० परिवार विस्थापित 
चार दिनको अविरल वर्षाका कारण महाकालीमा आएको अत्यधिक बाढी गाउँ पसेपछि जोगबुढा–३, तातापानीमा दर्जनभन्दा बढी घर बगेका छन् भने ५० परिवार विस्थापित भएका छन्।
बाढीले राजेन्द्रबहादुर सिंह, गोविन्द जाग्री, जंगबहादुर जाग्री, रामदत्त अवस्थी, धनिदत्त अवस्थी, अकबर घरेडी र खेमराज पन्तलगायतको एक दर्जन घर बगाएको तातापानी प्रहरी चौकीले जनाएको छ। शीर्ष–९ का केसी नाथलगायत दर्जन बढीको घर बगाएको छ।
'अहिलेसम्म दर्जन परिवार सुरक्षित स्थानमा राखिएका छन्,' नागरिक वडा मञ्चका संयोजक रमेश पनेरुले भने, 'छेलागाउँदेखि तातापानीसम्म रहेको मोहडाबाट महाकाली नदी गाउँ छिरेपछि ठूलो संख्यामा स्थानीयले घर छाडेका छन्।'
जोगबुढामा रहेको इलाका प्रहरी कार्यालय र नेपाली सेनाको बेसक्याम्पसमेत विस्थापित भएका छन्। नेपाली सेना स्थानीय सामुदायिक वनको भवनमा बसेको छ। महाकाली नदीले तातापानीका १० घर बगाएको छ भने शीर्ष–९, घट्टेबगरमा १५ घर बगाएको स्थानीय केसी नाथले बताए। तातापानीका विस्थापित पुरानो प्रहरी चौकीको भवनमा बसेका छन्। 
'महाकालीले लगातार कटानी गरिरहेको छ,' पनेरुले भने, 'यसैगरी कटान हुने हो भने रातभरिमा तातापानी गाउँ सखाप हुन्छ।' सो गाउँका ५० परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। तातापानी क्षेत्रमा महाकालीले एकै रातमा ४० रोपनी जमिन कटान गरेको स्थानीयले बताएका छन्। अझै कटान भइरहेका कारण कुनै बेला पनि स्थानीय विस्थापित हुनसक्ने प्रहरीले जनाएको छ। शीर्ष गाविसको परिगाउँमा १५ परिवार विस्थापित भएका छन्।
महाकाली र रंगुन नदीले कटान जारी राखेका कारण स्थानीय विस्थापित हुने क्रम बढेको छ। मान्छे, चौपाया र खाद्य सामग्री बोकेर प्रहरीले उद्धार गरिरहेको छ। प्रहरीका अनुसार तातापानीसँगै जोडिएको सिसमझाला गाउँका दर्जन परिवारलाई गाउँलेले उद्धार गरी साँदनीगाउँ पुर्यासएका छन्। 'पानी धेरै भएका भएका कारण कुनै क्षेत्रमा पनि उद्धार गर्न जान नसकिएको प्रहरीले जनाएको छ। 
सिसमझालाको एकातिरबाट महाकाली र अर्कोतिरबाट साँदनी खोला पसेपछि स्थानीय र प्रहरीले उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केशव बोहराले बताए। 
महाकाली र साँदनी खोलाको बाढीले तातापानी र सिसमझालालाई बीचमा पारेपछि प्रहरीले उद्धार गरेको थियो। सिसमझाला, तातापानी, छेला र बन्ड, कुणागाउँ पूरै जोखिममा छन्। प्रहरी निरीक्षक बोहराले भने, 'कुनै पनि बेला हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राखी त्यो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।' 
महाकालीको कटानका कारण प्रसिद्ध धार्मिकस्थल परशुराम मन्दिर पनि डुबानमा परेको छ। परिगाउँमा रहेको परशुराम प्राथमिक विद्यालयमा नदीको पानी पसेपछि पढाइ प्रभावित भएको स्थानीय हिक्मत सिंहले बताए। बाढी प्रभावित क्षेत्रमा स्थानीय र प्रहरीको रात्रिटोलीसमेत खटिएको स्थानीय गणेशबहादुर सिंहले बताए। रंगुन र महाकाली किनाराका सबै गाउँलेले गाउँ छाडिसकेका छन्। पन्तुरा र साँदनी खोलामा समेत बाढीको चाप बढ्दै गएपछि ठूलो संख्यामा स्थानीय बिचल्लीमा परेका छन्।' रंगुन र महाकाली नदीमा उच्च बहाव यथावत रहेको स्थानीयले बताए।
रंगुन नदीले यस वर्ष आलीतालको स्यालचौडी, घुम्ती बजार, मौरी, जोगबुढाको कैनपानी, रज्यौडा क्षेत्र, लालढुंगा बजारको प्रहरी र सेना रहेको क्षेत्र, सरकुँणा, ठण्डझाला, कुणा, तातापानी, छेला, सीसमझाला, भोरकुन्डालगायत गाउँ विस्थापीत बनेको स्थानीय प्रहरी चौकीले जनाएका छन्। 
खलंगामा त्रास
महाकालीको बहाव बढेसँगै दार्चुला सदरमुकाम खलंगामा अघिल्लो वर्षको नियती दोहोरिने त्रास बढेको छ। नदी अहिलेसम्म आफ्नै धारमा बगे पनि कटानको डर यथावतको छैन। बाढीले अपी नगरपालिका– ११, बंगाबगड क्षेत्र जोड्ने पैदल बाटो बन्द भएको छ। बंगाबगडलाई बजारसँग जोड्न सडक कार्यालयले नदी किनारमा अस्थायी बाटो निर्माण गरेको भए पनि पानीको बहाव बढेपछि बाटोमाथि महाकाली नदी बगिरहेको छ। बंगाबगड क्षेत्रमा एक सय मिटर बाटोका लागि दुई किलोमिटर उकालो घुमेर आवत–जावत गर्नुपर्ने बाध्यता छ। 
वर्षा नरोकिएकाले महाकाली नदी आसपासका स्थानीय घर छोडी सुरक्षित स्थानतर्फ सरिसकेका छन्। 'पोहर सालको दुर्दशा देखिसकेकाले यसपालि समयमै सुरक्षित स्थानतर्फ सरिसकेका छौं,' घाटबजारका हरकसिंह ठगुन्नाले भने, 'हिजैदेखि घर छाडिसक्यौं।' महाकाली किनारमा अवस्थित होटलमा रहेका ग्राहकसमेत होटल छाडेर अन्यत्र सरेको पसरौल गेस्ट हाउसका सञ्चालक पानसिंह बोहराले बताए। 
यातायात अवरुद्ध 
लगातार वर्षाले जिल्लामा चल्ने यातायात सेवासमेत ठप्प भएको छ। महाकाली लोकमार्गअर्न्तगत दार्चुला–गोकुलेश्वर खण्डको तीन–चार ठाउँमा पहिरो तथा महाकालीको कटानले बाटो पूर्णरुपमा अवरुद्ध भएको छ। सडक खण्डको ग्वानी, शंकरपुर, धामीगाडा, भर्तोला र असीगाडामा सडक अवरुद्ध हुँदा मूल सडकसँग सम्बन्ध बिच्छेद भएको छ। त्यसैगरी खलंगा–दल्लेख सडकसमेत पहिरोले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 
सदरमुकामबाट तीन दिनदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। यातायातका साधन जिल्ला भित्रिन नसक्दा दैनिक उपभोग्य वस्तु अभाव हुनसक्ने अवस्था आएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरो आउनसक्ने भन्दै स्थानीय प्रशासन तथा रेडक्रसलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहेको जिल्ला प्रशासनले जनाएको छ।
सुरक्षा निकाय तथा जिल्लास्थित सबै स्थानमा रहेका प्रहरी युनिटलाई पानी पर्न नरोकिएकाले उद्धारका लागि तयारी अवस्था रहन निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुँवरले बताए।
(Source: http://nagariknews.com)

Featured

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।